निस्सी खोलाले बगाउँदा गुल्मीमा महिला बेपत्ता

गुल्मी – गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५ इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन तीज मनाउन माइतीघर जाने क्रममा आइतबार साँझ खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

प्रहरीका अनुसार पुन मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४ हुलामा रहेको माइतीघर जाने क्रममा साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् । सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयबाट जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

यस्तै, प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि खटाइएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी गरिरहेको छ । उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box