आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती
काठमाडौँ, २६ भदौ । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मनुभएका भट्टको १९५३ साल भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । उहाँले नेपाली साहित्यको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । उहाँकै पहलमा नेपालमा छापाखाना भित्रिएको र त्यसैमार्फत नेपाली पत्रकारिताको सुरुआत भएको मानिन्छ । जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन तथा युवा वर्ष मोती पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिनुभएको छ ।

