आज कुशेऔँशी, बाबुको मुख हेर्ने दिन
काठमाडौँ, २६ भदौ । वैदिक सनातन धर्मावलम्बीले आज घरघरमा पवित्र कुश भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलिएको कुश घरमा भित्र्याउने परम्परा छ । आजका दिन उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको छ ।
यसै अवसरमा आज छोराछोरीले जीवित बाबुलाई मिठाइ तथा मनपर्ने भोजन खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने गर्दछन् । बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णलगायतका पवित्र तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ । काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्दैछ । पितृको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको यहाँ भीड लाग्ने गर्दछ । त्यसैले कुशेऔँशीलाई गोकर्णे औँसीका नामले समेत चिनिन्छ ।
रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि यस दिन मेला लाग्ने गरेकामा यस वर्ष भोटेकोशी बाढीका कारण मेला हुने वा नहुने निश्चित नभएको जनाइएको छ । सनातन धर्मावलम्बीले कुशलाई पवित्र वस्तुका रूपमा लिने गर्छन् । कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने धार्मिक विश्वास छ ।
आज घरमा भित्र्याइएको कुश वर्षभर हुने देव तथा पितृकार्यमा प्रयोग गरिन्छ । ‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिएमा सुख प्राप्त हुने तथा दिवङ्गत बाबुको नाममा तर्पण र पिण्डदान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

