कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित
लहान, १५ वैशाख – मधेशको जीवनरेखा मानिने हुलाकी मार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध दुई दिनको लगातार वर्षापछि भत्किँदा आवतजावत प्रभावित भएको छ। पुलको डाइभर्सनभन्दा करिब तीन सय मिटर अगाडि बनाइएको बाँध बीचमै भत्किएपछि केही समय यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। स्थानीयका अनुसार घटनाका कारण सयौँ सवारी साधन बाटोमै रोकिएका थिए।
सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवले स्थानीयको सहयोगमा फसेका सवारी साधनलाई हटाइएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार तत्काल जेसीबी प्रयोग गरी माटो हालेर आवतजावत अस्थायी रूपमा सुचारु गरिएको छ। वर्षायाममा दीर्घकालीन समाधानका लागि सम्बन्धित जनप्रतिनिधिसँग छलफल भइरहेको उहाँले बताउनुभयो।
स्थानीयले भने वर्षा सुरु भएसँगै समस्या दोहोरिने चिन्ता व्यक्त गरेका छन्। कमलापारिका किसानहरूलाई खेतीपातीमा असर पर्ने जोखिम रहेको उनीहरूको भनाइ छ। १४ वर्षअघि ठेक्का लागेको कमला पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन। २०७८ असार १७ गते आएको बाढीले निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको पुल भासिएपछि समस्या झन् जटिल बनेको थियो।
२०६८ जेठमा लुम्बिनी जेभीसँग १४ करोड ९१ लाख रुपैयाँमा सम्झौता गरिएको पुल २०७१ मङ्सिरमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म प्रयोगमा आउन सकेको छैन। सात पटकसम्म म्याद थप भइसकेको उक्त आयोजनामा हालसम्म २० करोड ४३ लाख रुपैयाँ खर्च भइसकेको छ। पुलको पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि सिरहाका प्रतिनिधिसभा सदस्यहरू तथा अन्य सरोकारवालाले पहल गरिरहेको जनाइएको छ।

