भोटेकोसी बाढीपीडितका लागि केडिया परिवारद्वारा एक करोड सहयोग
वीरगन्ज, १७ भदौ – रसुवाको भोटेकोसी बाढीसहित देशका विभिन्न क्षेत्रमा भएका विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केडिया परिवार, वीरगन्जले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । केडिया परिवारले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
परिवारका प्रतिष्ठान तथा संस्थाहरूको तर्फबाट सुशील वनस्पति प्रालिले ४० लाख, इन्दु शंकर चिनी उद्योग प्रालि हरिवनले ३५ लाख, डीएभी सुशील केडिया विश्वभारतीले २० लाख र सीताराम गोकुल मिल्क्स प्रालिले पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । प्राकृतिक विपद्बाट उत्पन्न कठिन परिस्थितिमा प्रभावित नागरिकप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरिएको केडिया परिवारले जनाएको छ ।

