बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात ठप्प
काठमाडौँ, १७ भदौ – अविरल वर्षापछि आएको बाढीपहिरोले देशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा पहिरो र बाढीका कारण यातायात अवरुद्ध भएको छ ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ–७ को कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे–२ को कमेरेभिरमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक सडकखण्डमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र यातायात सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।
नुवाकोटको पासाङ ल्हामु सडकखण्डको सिटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । विदुर–लाच्याङ र टोखा–छहरे सडकखण्ड पनि बाढीपहिरोबाट प्रभावित भएका छन् । रसुवाको उत्तरगया–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकसमेत बन्द छ ।
यसैगरी, लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत खर्करेभीर, मुगुको नाग्म–गमगढी सडकखण्डको ताल्चा तथा बैतडीको गोठालापानी–झुलाघाट सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

