भोटेकोशीमा पानीको बहाव बढ्यो, ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भदौ १४ गते बिहान भोटेकोशी नदीको बहाव बढेको भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले ल्हेन्दे खोलाबाट भोटेकोशीमा पुनः बाढी आएको भन्दै मानवीय तथा भौतिक क्षति हुन नदिन नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गर्नुभएको थियो। तर, बाढी पूर्वानुमान महाशाखाले बिहान ५ बजेर ४५ मिनेटमा अद्यावधिक सूचना जारी गर्दै अहिले त्रासपूर्ण अवस्था नरहेको स्पष्ट पारेको छ।

महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त जानकारीमा भोटेकोशी नदीको बहाव केही बढेको देखिएको छ। नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढे पनि ठूलो बाढीको अवस्था नरहेको जनाइएको छ। नदी किनार आसपासका स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक गरेका श्रव्य–दृश्य सामग्रीमा पनि पानीको बहाव बढे पनि भदौ १० गतेको जस्तो अवस्था नरहेको देखिएको महाशाखाले जनाएको छ।

हालको अवस्था र प्राप्त सूचनाका आधारमा रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जानकारी दिएको छ। यसअघि भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

अघिल्लो बाढीको त्रास कायमै रहेकाले नदीको बहाव बढ्नासाथ स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाले नदी आसपासका बासिन्दालाई भने मौसम तथा बाढीसम्बन्धी पूर्वसूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box