अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता
वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अमेरिकाले सहयोग जारी राख्ने जनाएको हो।
घोषित सहायता जीवनरक्षक मानवीय सहयोगका रूपमा उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकाले उपलब्ध गराउने उक्त सहयोगबाट बाढी प्रभावित करिब १० हजार जनालाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइने जनाइएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नेपालका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा अमेरिकाले थप सहायता घोषणा गरेको हो। अमेरिकी सरकारले यसअघि पनि नेपालमा विपद्का समयमा मानवीय सहायता तथा उद्धारमा सहयोग गर्दै आएको छ।

