जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिँदै
म्याग्दी, १० भदौ – रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक स्तरोन्नतिसहित कालोपत्र गरिने भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत घुमाउनेतालदेखि पिप्ले हुँदै गाउँपालिका केन्द्र मौवाफाँटसम्मको ६ किलोमिटर ४०० मिटर सडक जलविद्युत् आयोजनाको सहयोगमा कालोपत्र गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।
दुई दशकअघि सडकको मार्ग खुले पनि साँघुरो, जीर्ण र कच्ची अवस्थामा रहेको उक्त सडकलाई घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो बनाइनेछ। त्यसपछि कालोपत्र गरिने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो। उहाँका अनुसार ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत तथा गाउँपालिकाभित्र निर्माण सम्पन्न र निर्माणाधीन अन्य जलविद्युत् आयोजनाले २० प्रतिशत लागत व्यहोर्ने गरी योजना अघि बढाइएको हो।
घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट चोकसम्म सडक कालोपत्र गरिनेछ भने त्यहाँदेखि बुक्ल–बाँधस्थल खण्डमा ग्राभेल गर्ने तथा खोल्साहरूमा कल्भर्ट निर्माण गरिने योजना छ। गाउँपालिकाको संयोजनमा एक वर्षअघि राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गर्दै आएका सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार अहिले कालोपत्रको काम अघि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो।
हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने र सबबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्रबाहेक सडक स्तरोन्नतिका सम्पूर्ण काम गर्नेछ भने अन्य जलविद्युत् आयोजनाले कालोपत्रको लागतको २० प्रतिशत व्यहोर्ने गरी सम्झौता भएको छ। सडक स्तरोन्नतिको काम आगामी कात्तिक १५ गतेसम्म सम्पन्न गर्ने गरी आयोजनासँग लिखित सम्झौता गरिएको छ।
सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न भएपछि रघुगङ्गा गाउँपालिकाका आठवटै वडाका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। रघुगङ्गा गाउँपालिकाभित्र राहुघाट नदीमा ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, ३५ दशमलव ५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१ दशमलव ३ मेगावाटको ठूलोखोला र २२ दशमलव ५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायत जलविद्युत् आयोजना सञ्चालनमा छन्। ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना भने परीक्षण उत्पादनको तयारीमा रहेको छ।

