इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १० भदौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले आफ्ना सन्देष्टाका रूपमा सम्मान गर्ने पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। उहाँले पछि मदिना गएर इस्लाम धर्मको प्रचारप्रसार गर्नुभएको थियो। उहाँको जन्मको ५३ वर्षपछि इस्लामिक पात्रो अर्थात् हिजरी संवत् सुरु भएको मानिन्छ। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।

मुस्लिम धर्मावलम्बीका अनुसार पैगम्बर मोहम्मदलाई उपदेश दिने क्रममा मक्कामा कुरान अवतरण भएको थियो। त्यसपछि मक्का र मदिना इस्लाम धर्मावलम्बीका प्रमुख पवित्र स्थलका रूपमा स्थापित भएका हुन्। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएका पैगम्बर मोहम्मदका उपदेश र शिक्षालाई स्मरण गर्दै जन्मजयन्ती मनाउने गरिन्छ। यस अवसरमा मुस्लिम समुदायले ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्।

जन्मजयन्तीका अवसरमा काठमाडौँका नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत विभिन्न मस्जिदमा विशेष कार्यक्रम आयोजना गरिएको छ। मुस्लिम समुदायले यस दिन सामूहिकरूपमा भेला भई धार्मिक प्रवचन सुन्ने, प्रार्थना गर्ने तथा पैगम्बर मोहम्मदका शिक्षालाई स्मरण गर्ने गर्दछन्।

Facebook Comments Box