बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा, १ भदौ – धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न यस वर्ष मुख्य पूजाअघि नै पूजा सुरु गरिएको हो। बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ। एकै दिन ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापनका लागि आजदेखि नै पूजा सुरु गरिएको हो।

हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन बडीमालिकामा मुख्य पूजा हुने गर्दछ। गत वर्ष ४५ हजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेका थिए। यस वर्ष पनि दर्शनार्थीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। बडीमालिकामा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ। डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली यसअघि नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको छ।

गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि क्षेत्रको आकर्षण थप बढेको स्थानीयको भनाइ छ। मन्दिर र आसपासको क्षेत्रको प्रचारप्रसार बढेसँगै पछिल्लो समय पर्यटक तथा भक्तजनको आगमन पनि बढ्दै गएको छ। मेला तथा पूजा व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायले आवश्यक तयारी अघि बढाएका छन्। बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ।

मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ। धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तु लैजान र प्रयोग गर्न निषेध गरिएको छ। दर्शनार्थी बिरामी परेमा, लेक लागेमा वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालसँग समन्वय गरी उद्धार तथा स्वास्थ्य व्यवस्थापन गर्नेछन्। आवश्यक परे नेपाली सेनाले समेत उद्धार कार्यमा नेतृत्व गर्ने व्यवस्था गरिएको छ।

यसैबीच, बडीमालिका क्षेत्रमा सञ्चार सुविधा विस्तारका लागि फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। मौसम खराब हुँदा उपकरण ढुवानीमा ढिलाइ भएपछि टावर निर्माण प्रभावित भएको थियो। भौगोलिक विकटताका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि साउन २६ गते हेलिकप्टरमार्फत उपकरण त्रिवेणी पाटनसम्म पुर्‍याइएको थियो।

नेपाल टेलिकमका अनुसार टावर निर्माणका लागि प्राविधिक टोली यसअघि नै बडीमालिका पुगे पनि मौसम खराब भएर उपकरण समयमै नपुगेपछि टोली फर्किएको थियो। अहिले स्थानीय तहले त्रिवेणी पाटनबाट टावर निर्माणस्थलसम्म उपकरण पुर्‍याउने व्यवस्था मिलाएको छ। मेला सुरु हुनुअघि नै सञ्चार सुविधा उपलब्ध गराउने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित छ। त्रिवेणी क्षेत्र, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन्। हराभरा पाटन, रङ्गीचङ्गी फूल, हिमालका मनोरम दृश्य तथा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीले बडीमालिका क्षेत्रलाई थप आकर्षक बनाएका छन्। धार्मिक विश्वास, प्राकृतिक सुन्दरता र पौराणिक किंवदन्तीका कारण पछिल्ला वर्षमा बडीमालिकामा देश तथा विदेशबाट आउने भक्तजन र पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

Facebook Comments Box