हिमालयदेखि एन्डिजसम्म : नेपाल–पेरु मित्रताको ५० वर्ष
काठमाडौँ, ३० जेठ – पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा विशेष स्वागत समारोह आयोजना गरिएको छ। भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र काठमाडौँस्थित पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, अवैतनिक वाणिज्यदूत, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले पेरुको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति मित्रता तथा सद्भावका लागि आभार प्रकट गर्नुभयो। उहाँले नेपाल र पेरुबीचको सम्बन्ध विगत पाँच दशकदेखि आपसी सम्मान, मित्रता र सहकार्यमा आधारित रहँदै आएको बताउनुभयो। उहाँले यस वर्ष नेपाल र पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ बन्दै गएको धारणा राख्नुभयो।
राजदूत पाउलिनिचले हिमालय र एन्डिज पर्वत शृङ्खलाले दुवै देशको जनजीवन, संस्कृति र राष्ट्रिय पहिचानमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै पर्वतीय भूगोलका कारण नेपाल र पेरुबीच विशेष आत्मीयता रहेको बताउनुभयो। उहाँले पर्वतीय क्षेत्रले सिर्जना गर्ने अवसर र चुनौतीहरूको सामना गर्न दुवै देशले महत्वपूर्ण अनुभव हासिल गरेको र यसले सहकार्यका नयाँ सम्भावना खोलिदिएको बताउनुभयो।
उहाँले राजनीतिक संवाद, व्यापारिक आदानप्रदान, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन पेरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा र दिगो विकासका क्षेत्रमा नेपाल–पेरु सहकार्य विस्तार गर्न सकिने सम्भावना औँल्याउनुभयो।
कार्यक्रममा अवैतनिक वाणिज्यदूत अग्रवालले नेपालमा पेरुको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको बताउँदै दुई देशबीचको आधा शताब्दी लामो मित्रतालाई अझ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न विशेष पहल गरिने जानकारी दिनुभयो।
साथै दुवै देशका उद्योग तथा वाणिज्य क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। राजदूत पाउलिनिचले नेपालमा पेरुको प्रवर्द्धन तथा नेपाल–पेरु सम्बन्धलाई थप सुदृढ बनाउन अग्रवालले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। नेपाल र पेरुबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
विगत पाँच दशकमा दुवै देशले मित्रता, आपसी सम्मान र सहयोगका आधारमा सम्बन्धलाई निरन्तर विस्तार गर्दै आएका छन्। स्वर्णजयन्ती वर्षका अवसरमा दुवै पक्षले आगामी दिनमा सम्बन्धलाई अझ व्यापक, परिणाममुखी र जनस्तरसम्म लाभ पुग्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। समारोहमा नेपाल–पेरु मित्रता आगामी वर्षहरूमा अझ सुदृढ बन्दै जाने तथा हिमालय र एन्डिजलाई जोड्ने सहकार्यका नयाँ आयाम खुल्ने विश्वास व्यक्त गरिएको थियो।

