लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल, १ भदौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीनबुँदे सहमति भएको थियो। त्यसपछि कांग्रेसले प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि अहिले ८३ जना सांसद कायम छन्। कायम सदस्य सङ्ख्याका आधारमा प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र नेपाली कम्युनिस्ट पार्टीका सभामुखसहित १३ सांसद छन्। सरकारलाई बहुमत पुर्‍याउन एमाले र नेकपाले एक जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चासँग पनि सहमति गरेका छन्।

त्यसैगरी, वर्तमान सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालबाट एक–एक जना मन्त्री सहभागी रहेकाले ती दलको समर्थन प्राप्त भए सरकारलाई सुविधाजनक बहुमत पुग्ने अवस्था देखिएको छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने समझदारी भएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ वटा मन्त्रालय कायम रहेकाले सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँट चुनौतीपूर्ण बन्ने देखिएको छ। नयाँ सत्ता समीकरणअनुसार नेकपालाई कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले बताउनुभएको छ। हाल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच जना, जनता समाजवादी पार्टी नेपालका एक जना र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना मन्त्री रहेका छन्।

Facebook Comments Box