मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ साउन – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेकाले आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा अहिले भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box