वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ३१ साउन – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी आवागमन रोकिएको छ । उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले उक्त स्थानमा वैकल्पिक सडक रहेको जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी, सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात ठप्प भएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो गएपछि बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
निरन्तरको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्ने, बाढीले सडक कटान गर्ने र सडक भासिने क्रम जारी रहेकाले यात्रामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले यात्रा गर्नुअघि आफू जाने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्नसमेत सबैलाई अनुरोध गरेको छ ।

