कालीगण्डकीको कटानले मालढुङ्गा पुल जोखिममा
बागलुङ, २७ साउन – कालीगण्डकी नदीको कटानका कारण बागलुङको प्रवेशद्वार मालढुङ्गास्थित मोटरेबल पुल जोखिममा परेको छ । बागलुङ र पर्वत जोड्ने उक्त पुलको पर्वततर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो । नदीको सतह बढेसँगै गत बिहीबारदेखि पुलको जगमा क्षति पुग्न थालेको र अहिले जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलको प्रारम्भिक निरीक्षणपछि थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराइएको सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर हरि सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार अहिले नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत गर्न सम्भव छैन । पानीको सतह घटेपछि क्षतिको विस्तृत अध्ययन गरी मर्मतको काम अघि बढाइनेछ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो । पुलको जग संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत भत्किएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सावधानी अपनाएर सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भागमा पाँच सय मिटर र तल्लो भागमा एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न कानुनी रूपमा रोक लगाइएको छ । तर, पुल आसपास नदी दोहन तथा नदीजन्य सामग्री उत्खनन हुँदै आएकाले पुलसँगै मालढुङ्गा बस्तीसमेत थप जोखिममा परेको कार्यालयको भनाइ छ । नदीको बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणको काम अघि बढाइने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।

