फेकण्डो भिर चर्किएपछि दोसल्लेका नौ घरपरिवार विस्थापित
म्याग्दी, २६ साउन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् । पहिरोका कारण थप १८ घरपरिवार जोखिममा परेका छन् । उच्च जोखिममा रहेका भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभएको छ ।
जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीले स्थलगत अनुगमन गर्दा फेकण्डो भिर जुनसुकै बेला खसेर ठूलो पहिरो जानसक्ने देखिएपछि घरका सामान तथा गाईवस्तुसमेत सुरक्षित स्थानमा सारिएको अध्यक्ष पुनले बताउनुभयो । वडाध्यक्ष मइलन पुर्जा पुनका अनुसार रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनका परिवारलाई विस्थापित गरिएको हो ।
केही दिनअघि भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीयवासीले स्थलगत निरीक्षण गरी गाउँपालिका र प्रशासनलाई जानकारी गराएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जोखिम क्षेत्रको निरीक्षण गरेको थियो ।जोखिमको थप अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरिएको छ । यसअघि ड्रोन क्यामेराको प्रयोग गरी पहिरोको अवस्थाबारे अध्ययनसमेत गरिएको थियो ।
फेकण्डो भिरको तल जङ्गल हुँदै दोसल्ले बस्ती रहेको छ भने बस्तीको फेदीमा कालीगण्डकी नदी र तिप्ल्याङ बजार रहेको छ । स्थानीयवासीका अनुसार यसअघि उक्त पहाडमा यसरी चिरा परेको वा पहिरो गएको थिएन । पहिरोबाट खसेका ढुङ्गा घर तथा आँगनसम्म आउन थालेपछि स्थानीयवासी सुरक्षित स्थानमा सर्न बाध्य भएका छन् ।
पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलका सुन्तला बगैँचासमेत जोखिममा परेको छ । पहिरो ठूलो भएमा तिप्ल्याङ क्षेत्रमा रहेको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक तथा दोसल्ले हुँदै हिस्तान–राम्चे जोड्ने सडकमा समेत क्षति पुग्नसक्ने स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

