जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान
झापा, ६ माघ – हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका १२० परिवार मासिक रूपमा नियमित बचत अभियानमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको पहलमा सुरु भएको यो अभ्यास अहिले समुदायको दैनिकीको अभिन्न अङ्ग बनेको छ ।
समाजका अध्यक्ष कमल मुर्मुका अनुसार प्रत्येक महिनाको पहिलो शनिबार सदस्यहरू भेला भई बचत सङ्कलन गरिन्छ । “न्यूनतम दुई सय रुपैयाँदेखि सदस्यले आफूले सक्ने जति बचत गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “सानो रकम भए पनि नियमितता नै हाम्रो मुख्य शक्ति हो ।” तीन वर्षअघि सुरु भएको अभियानमार्फत हालसम्म १३ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।
दैनिक ज्याला मजदुरीमा निर्भर समुदायका लागि यो सामूहिक उपलब्धि महत्वपूर्ण मानिन्छ । सङ्कलित रकम समाजकै सदस्यलाई एक प्रतिशत ब्याजदरमा ऋणका रूपमा उपलब्ध गराइँदै आएको छ । यसले समुदायभित्र आर्थिक शोषण न्यूनीकरण गर्न मद्दत पुगेको अध्यक्ष मुर्मुको भनाइ छ । “महँगो ब्याजमा बाहिरबाट ऋण लिनुपर्ने बाध्यता कम भएको छ,” उहाँले बताउनुभयो ।
बचतकर्ता सपना हेमरका लागि यो व्यवस्था आर्थिक सुरक्षाको आधार बनेको छ । “आवश्यक पर्दा सजिलै सस्तो ब्याजमा रकम निकाल्न पाइन्छ,” उहाँले भन्नुभयो, “कृषि र घरायसी कामका लागि यो बचत निकै उपयोगी भएको छ ।” आफ्नै समुदायभित्रको बचत सुरक्षित र भरपर्दो हुने उहाँको अनुभव छ ।
सपनाजस्तै अधिकांश सदस्यका लागि यो कोष आकस्मिक आवश्यकता, सन्तानको शिक्षा, उपचार तथा रोजगारीका अवसरमा भरोसायोग्य माध्यम बनेको छ । अर्का बचतकर्ता वकिल सोरेनका अनुसार समाजले वैदेशिक रोजगारीमा जान चाहनेलाई बिनाधितो एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । “धितोको अभावले धेरै अवसर गुम्ने परिवारका लागि यो ठूलो सहयोग हो,” उहाँले भन्नुभयो ।
यहाँका अधिकांश सन्थाल समुदाय चिया बगान, निर्माण क्षेत्र, मिस्त्री, ट्रयाक्टर चालकजस्ता श्रमप्रधान काममा संलग्न छन् । आम्दानी सीमित भए पनि नियमित बचतलाई प्राथमिकता दिनु चेतनशील अभ्यास भएको सोरेन बताउनुहुन्छ । समाजले पारदर्शिता र विश्वासलाई विशेष महत्व दिएको छ । मासिक भेला, सार्वजनिक हिसाबकिताब र सामूहिक निर्णय प्रक्रियाले सदस्यहरूबीच एकता र भरोसा बढाएको अध्यक्ष मुर्मुको विश्वास छ ।
यसले समुदायभित्र सामाजिक सम्बन्ध थप सुदृढ बनाएको छ । यो अभियान आर्थिक पक्षमा मात्र सीमित नभई सामाजिक परिवर्तनको संकेतसमेत बनेको हल्दीबारीका पत्रकार नेत्र विमली बताउनुहुन्छ । “सन्थाल समुदायमा आर्थिक अनुशासन र सहकार्यको भावना बलियो हुँदै गएको छ,” उहाँको भनाइ छ ।
यद्यपि अनियमित आम्दानीका कारण कहिलेकाहीँ बचतमा चुनौती देखिने गरेको छ । तर आपसी समझदारी र लचकताका माध्यमबाट समाजले समस्या समाधान गर्दै आएको छ । भविष्यमा बचत रकमलाई साना उद्यम, कृषि प्रवर्द्धन र सामूहिक लगानीतर्फ विस्तार गर्ने योजना रहेको अध्यक्ष मुर्मुले जानकारी दिनुभयो ।
आज जलथलका सन्थाल बस्तीमा बचत केवल आर्थिक गतिविधि नभई भविष्यप्रतिको आशा बनेको छ । सानो रकमलाई ठूलो सपना बनाउँदै समुदाय आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ । नियमित बचतको यो संस्कारले आर्थिक सुरक्षा मात्र होइन, सम्मान र आत्मविश्वाससमेत प्रदान गरेको छ ।

