दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
इलाम, २६ साउन – झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । माङसेबुङ गाउँपालिकाका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको हो ।
अविरल वर्षाका कारण माङसेबुङ क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताउनुभएको छ ।
उहाँका अनुसार क्षतिग्रस्त सडकको मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन । वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको छ । मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकमा यातायात तथा जनजीवन प्रभावित हुँदै आएको छ । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले आवतजावत तथा कृषि उत्पादन बजारसम्म लैजान यही सडक प्रयोग गर्दै आएका छन् । सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् ।

