देशभर मनसुनको प्रभाव कायम, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह
काठमाडौँ, २२ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
महाशाखाले लगातारको वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याएर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

