रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मत हाल्न सकिने
चितवन, ६ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका प्रतिनिधिहरूलाई डिजिटल माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र तस्बिरमा स्पर्श गरेर मतदान गर्न सक्नेछन्। पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ।
पहिलो चरणमा पार्टी सभापति एक जना र केन्द्रीय समितिका ९९ सदस्य चयनका लागि मतदान हुनेछ। निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ। निर्वाचन तालिकाअनुसार असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ। सोही दिन साँझ पहिलो चरणको मतदान गरिने र रातिसम्म परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचन भने असार ९ गते सम्पन्न गरिनेछ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशमा रहेका र कार्यक्रममा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि पार्टीको आफ्नै मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगका अनुसार विदेशस्थित १७० प्रतिनिधिमध्ये नेपाल आउन नसक्नेहरूले डिजिटल माध्यमबाट मताधिकार प्रयोग गर्न सक्नेछन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य छन्। आयोगका पदाधिकारीहरूले निर्वाचनमा उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रमुख केसीले आयोगले निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

