रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

रौतहट, २१ साउन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार आज बिहान करिब साढे पाँच बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो। त्यसलगत्तै ट्याङ्करमा आगलागी भएको हो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकल तथा प्रहरीको संयुक्त प्रयासमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा नष्ट भए पनि कुनै मानवीय क्षति भएको छैन। महेन्द्र राजमार्गमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालक बारा, सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box