विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको सङ्गठन संरचना स्वीकृत, ९० दरबन्दी कायम

काठमाडौँ, ११ साउन  – नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्दै औपचारिक दर्ता गराउने दोस्रो मन्त्रालय बनेको छ।

महावीर पुन नेतृत्वको मन्त्रालयले साउन ११ गते स्वीकृत गरेको नयाँ सङ्गठन संरचना राष्ट्रिय किताबखाना (निजामती) मा पठाएको हो। राष्ट्रिय किताबखानाले उक्त दरबन्दी तेरिज ‘फास्ट ट्र्याक’मार्फत दर्ता गरिसकेको जनाएको छ।

नयाँ संरचनाअनुसार मन्त्रालयमा कुल ९० जनाको दरबन्दी रहनेछ। प्रशासनिक नेतृत्वका लागि एक जना सचिव तथा तीन जना सहसचिव रहने व्यवस्था गरिएको छ। सहसचिवमध्ये दुई जना इन्जिनियरिङ सेवाका र एक जना प्रशासन सेवाका रहनेछन्।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले नयाँ मन्त्रालयहरूको सङ्गठन संरचना छिटो दर्ता गर्न विशेष कार्य टोली परिचालन गरिएको जानकारी दिनुभएको छ।

वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई प्राथमिकता दिने उद्देश्यले गठन गरिएको मन्त्रालयले सङ्गठन संरचना टुङ्ग्याएसँगै अब कर्मचारी व्यवस्थापन र कार्यसम्पादनलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

Facebook Comments Box