सुनसरी घटनाको विरोधमा सिरहामा प्रदर्शन, निष्पक्ष छानबिनको माग

काठमाडौँ, ११ साउन – सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार र कर्जन्हामा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा गोली प्रहारबारे सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका छन्। उनीहरूले माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गोलबजार र कर्जन्हामा विरोध प्रदर्शन भएको जानकारी प्राप्त भएको बताउँदै प्रदर्शनकारीका प्रतिनिधिसँग छलफलको तयारी भइरहेको जानकारी दिनुभएको छ।

उहाँका अनुसार हालसम्म जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको छ।यसअघि प्रदर्शनकारीले कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए।

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा घाइते भएका देवानगञ्जका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो।

Facebook Comments Box