देवानगञ्ज घटनापछि प्रदर्शन उग्र, आगजनी र तोडफोड

विराटनगर, ११ साउन – सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन उग्र बन्दै गएको छ। आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।

सोमबार प्रदर्शनकारीले देवानगञ्जका विभिन्न स्थानमा घर, पसल, सवारीसाधन र अन्य संरचनामा आगजनी तथा तोडफोड गरेका छन्। प्रहरीले देवानगञ्ज गाउँपालिका कार्यालय नजिक एक घर, हार्डवेयर पसल, ट्र्याक्टर, मोटरसाइकल तथा परालका टालीमा आगजनी भएको जनाएको छ। यसैबीच, देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। गम्भीर घाइते उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

अवस्था नियन्त्रणमा लिन प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। यता, इनरुवा बजारमा पनि प्रदर्शनकारीले बजार बन्द गराउँदै पसल, सवारीसाधन र प्रहरी बिटमा तोडफोड गरेका छन् भने पूर्व–पश्चिम राजमार्गका केही स्थानमा अवरोध सिर्जना गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Facebook Comments Box