सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, झडपपछि सुरक्षा व्यवस्था कडा
सुनसरी, ११ साउन – सुनसरी जिल्लाका पाँच क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो। गएराति देवानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु तथा २१ जना घाइते भएपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।
प्रशासनले हरिनगरा, भुटाहा, कसनागञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरेको छ। ती क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको परिचालन बढाइएको जनाएको छ।

