नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड

काठमाडौँ, २ पुस — अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य विस्तार गर्दै लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

उहाँले विदेशी लगानी आकर्षित गर्न नेपालले अनुकूल नीतिगत तथा कानुनी वातावरण निर्माण गरेको बताउँदै नेपाल र चीनले ऊर्जा, पूर्वाधार, उद्योग तथा अन्य सम्भाव्य क्षेत्र पहिचान गरी सहकार्य विस्तार गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । कार्यशालामा नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताको नेपालमा उपस्थिति क्रमशः बढ्दै गएको बताउनुभयो ।

उहाँले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई उल्लेख गर्दै औद्योगिक विकास, ऊर्जा तथा पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभयो । राजदूत सङले नेपाल–चीन आर्थिक सहकार्यलाई थप मजबुत बनाउन चीन सरकार तथा निजी क्षेत्रको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Facebook Comments Box