सुनसरीको देवानगञ्ज झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २१ जना घाइते
सुनसरी, ११ साउन – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीय दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
घटनामा गोली लागेर आठ जना स्थानीय घाइते भएका छन्। उनीहरूमध्ये केहीको कोशी अस्पताल र केहीको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका आठ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीका अनुसार राईको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य घाइते सुरक्षाकर्मीहरूको पनि उपचार भइरहेको छ।
सशस्त्र प्रहरी बलतर्फ पनि पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार स्थानीय दुई समूहबीचको विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अवस्था सामान्य बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक परिचालन गरिएको छ।

