फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड विश्वकप २०२६ को तेस्रो स्थानमा

मियामी, ३ साउन  – फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डका बुकायो शाकाले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।

इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि कोन्शाले १८औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको ३७औँ मिनेट र इन्जुरी समयमा शाकाले लगातार दुई गोल थपेपछि इंग्ल्यान्डले पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको थियो।

दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। टोलीका कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा अर्को गोल गरे। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा पुर्‍याए।

खेलको ८७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै शाकाले व्यक्तिगत ह्याट्रिक पूरा गरे र इंग्ल्यान्डलाई ५–३ को अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल फर्काए पनि त्यसको केहीबेरमै जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे। सन् १९६६ मा विश्वकपको उपाधि जितेपछि इंग्ल्यान्डले पहिलो पटक विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो। यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो।

Facebook Comments Box