अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै विश्वकप फाइनलमा

काठमाडौं, ३२ असार साविक विजेता अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। दोस्रो हाफको इन्जुरी समयमा सुपर सब लाउटारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुगेको हो। एटलान्टा स्टेडियममा बुधबार राति भएको सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले अन्तिम पाँच मिनेटभित्र दुई गोल गर्दै अविस्मरणीय जित दर्ता गर्‍यो।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे भने इंग्ल्यान्डका एन्थोनी गोर्डनले सुरुआती अग्रता दिलाएका थिए। तीन पटकको विश्वविजेता अर्जेन्टिना अब सातौँ पटक विश्वकपको फाइनल खेल्नेछ। सन् २०२२ मा ३६ वर्षको उपाधि खडेरी अन्त्य गरेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित अब स्पेनसँग भिड्नेछ।

यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो भने १९३०, १९९० र २०१४ मा फाइनलमा पराजित भएको थियो। यता, सन् १९६६ को विश्वविजेता इंग्ल्यान्ड भने विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलबाटै बाहिरिएको छ। यसअघि पनि सन् १९९० र २०१८ मा इंग्ल्यान्डको यात्रा अन्तिम चारमै टुंगिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र तीन गोल भए। खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले हार नमानी अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्‍यो। ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट शानदार प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि थपिएको नौ मिनेटको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै अर्को उत्कृष्ट पासलाई सदुपयोग गर्दै मैदान छिरेका लाउटारो मार्टिनेजले विजयी गोल गरे। त्यसपछि अर्जेन्टिनाले बाँकी समय अग्रता जोगाउँदै फाइनलको टिकट सुरक्षित गर्‍यो। खेलभर अर्जेन्टिनाले ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै दबाब कायम राख्यो। अर्जेन्टिनाले पाँच पटक लक्ष्यमा प्रहार गर्दा इंग्ल्यान्डले दुई पटक मात्र सट अन टार्गेट राख्न सफल भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट कुल २६ वटा फाउल भएका थिए।

Facebook Comments Box