कञ्चनपुरमा डेङ्गुको जोखिम बढ्दो, पछिल्लो ६ महिनामा २८ जनामा सङ्क्रमण

कञ्चनपुर, ३१ असार  – कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामै २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमा भेटिएपछि स्वास्थ्य निकायले उच्च सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधि प्रभावकारी बनाउन आग्रह गरेका छन्।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग फोकल पर्सन सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु पुष्टि भएको हो। उक्त अवधिमा सुदूरपश्चिम प्रदेशभर ७० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेला परेका छन्।

स्वास्थ्यकर्मीका अनुसार डेङ्गु एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस प्रजातिका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यी लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने तथा मुख्यतः दिउँसो सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने बताइएको छ।

सिद्धराज भट्टका अनुसार डेङ्गुका चार प्रकारका विषाणु हुने भएकाले एकपटक सङ्क्रमण भइसकेपछि अर्को प्रकारको डेङ्गु पुनः लाग्न सक्छ। दोस्रोपटकको सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुन सक्ने भएकाले थप सावधानी आवश्यक रहेको उनले बताए।

डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्छ। सङ्क्रमित व्यक्तिमा १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, जोर्नी तथा शरीर दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने र गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए। उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, दीर्घरोगी, मोटोपन भएका तथा अत्यधिक रक्तस्राव भएका बिरामी उच्च जोखिममा रहने गर्छन्।

उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन वा एस्पिरिनजस्ता औषधि प्रयोग नगर्न सुझाव दिएका छन्। स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डा पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन्। त्यसैले घर वरपर पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरका सबै नौवटा स्थानीय तहमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालनका लागि बजेट व्यवस्था भइसकेको छ। अभियानअन्तर्गत सरसफाइ, जनचेतनामूलक कार्यक्रम, समुदाय परिचालन तथा छलफलसमेत सञ्चालन गरिनेछ। स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, पुराना टायर र पानी जम्ने भाँडाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्याल–ढोकामा जाली प्रयोग गर्न तथा दिउँसो पनि झुल प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box