पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं, ३१ असार – मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार झालाई दोषी ठहर गरेको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार अब सजाय निर्धारणका लागि असार ३२ गते पेसी तोकिएको छ।

झाविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित उनको डेरामा जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी थिइन्। घटनापछि झाले पनि ती महिलाविरुद्ध प्रतिजाहेरी दिएका थिए। दुवै पक्षबाट जाहेरी परेपछि केही समय अनुसन्धान अघि बढ्न नसकेको भए पनि प्रहरीले २०८२ साउन ४ गते उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेको १० दिनपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हाल उनी डिल्लीबजार कारागारमा रहेका छन्। राजेश झालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। अब अदालतले सजाय निर्धारण गरेपछि उनीमाथि लाग्ने कैद तथा अन्य कानुनी व्यवस्था टुंगो लाग्नेछ।

Facebook Comments Box