ढिलासुस्तीले अलपत्र खोटाङका दुई सडक कालोपत्र योजना, वर्षायाममा स्थानीय सास्तीमा

खोटाङ, २९ असार  – निर्माण व्यवसायीको ढिलासुस्तीका कारण खोटाङका दुई महत्वपूर्ण ग्रामीण सडकको कालोपत्र योजना अधुरै बनेको छ। निर्धारित समयमै काम सम्पन्न हुन नसक्दा स्थानीयवासीले वर्षायाममा पुनः सास्ती व्यहोर्नुपरेको छ भने सरकारी लगानीसमेत जोखिममा परेको छ।

कोशी प्रदेश सरकारको बजेटमा सञ्चालित मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथला–जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐँसेलुखर्क बजार जोड्ने सडक तथा हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको कालोपत्र कार्य अन्तिम चरणमा पुगेर रोकिएको हो।

दुवै सडक असार १५ भित्र अस्फाल्ट कालोपत्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग सम्झौता गरेको थियो। तर समयमै निर्माण सामग्री व्यवस्थापन हुन नसक्नु र वर्षायाम सुरु भएसँगै काम रोकिएको कार्यालयले जनाएको छ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको दुई हजार २०० मिटर खण्ड दुई करोड ३८ लाख ३८ हजार रुपैयाँमा कालोपत्र गर्ने योजना थियो। यस्तै, हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको दुई हजार ५०० मिटर खण्ड दुई करोड ५३ लाख ५४ हजार रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता गरिएको थियो।

कार्यालयका अनुसार हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको भौतिक प्रगति १८ प्रतिशत र हुर्लुङ–जालपा–सप्तेश्वर–बाक्सिला सडकको १३ प्रतिशत मात्र भएको छ। निर्माण कम्पनीले नाला, रिटेनिङ वाल, ग्याविन जाली, सबबेस तथा कजवे ढलानजस्ता प्रारम्भिक संरचनागत काम सम्पन्न गरे पनि बेस तयार भएपछि गरिनुपर्ने अस्फाल्ट कालोपत्र भने हुन सकेन। नियमित वर्षा र समयमै बिटुमिन खरिद गर्न नसकिएकाले काम रोकिएको निर्माण पक्षको भनाइ छ।

स्थानीयवासी महन गुरुङले कालोपत्र गर्ने चरणमा पुगेको सडक अधुरै छाडिँदा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको बताउनुभयो। कार्यालयका अनुसार म्याद थप भए करिब एक महिनाभित्र बाँकी काम सम्पन्न गर्न सकिने सम्भावना रहेको छ। गत वैशाख ३ गते सम्झौता भए पनि निर्माण कम्पनीले लामो समयसम्म काम सुरु नगरेको र अन्तिम समयमा काम थालेपछि वर्षा सुरु हुँदै निर्माणस्थल छाडेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

निर्माण सामग्रीसमेत सडकमै छाडिएको कारण यातायात सञ्चालनमा थप समस्या उत्पन्न भएको व्यवसायीहरूको गुनासो छ। खोटाङका १० स्थानीय तहमध्ये मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अझै कालोपत्र हुन सकेका छैनन्। यसले ग्रामीण भेगका नागरिकलाई सहज यातायात पहुँचबाट अझै वञ्चित बनाइरहेको छ।

Facebook Comments Box