कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दी गाउँपालिकाको यात्रा
लमजुङ, २८ असार – लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सडक कालोपत्र भएपछि यस वर्षको बर्खायाममा स्थानीयले सहज र सुरक्षित सडक यात्राको अनुभव गर्न थालेका छन्। अघिल्ला वर्षहरूमा हिलो, चिप्लोपन र धुलोका कारण सास्ती भोग्नुपरेको सडक अहिले नियमित रूपमा सञ्चालनमा रहेको छ।
गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको ७.१ किलोमिटर सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा छोटो, सुरक्षित र सहज बनेको छ। विगतमा वर्षायाममा सडक हिलाम्मे हुने, सवारीसाधन फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने समस्या थियो भने हिउँदमा धुलोका कारण स्थानीय बासिन्दा र यात्रु प्रभावित हुने गरेका थिए।
अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र भएपछि अहिले वर्षायाममा पनि मोटरसाइकलदेखि साना सवारीसाधनसम्म सहज रूपमा सञ्चालन भइरहेका छन्। स्थानीय लक्ष्मण गुरुङका अनुसार पहिले उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरे पनि अहिले १५ देखि २० मिनेटमै यात्रा पूरा गर्न सकिन्छ। उहाँले विगतमा हिलोका कारण गाडी चिप्लिने, बाटोमै फस्ने र यात्रु आफैँले सडक मिलाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले सुरक्षित र समयमै गन्तव्य पुग्न सकिने वातावरण बनेको बताउनुभयो।
बेँसीसहर नगरपालिका–११ का ईश्वरराज सेढाईले पनि सडक स्तरोन्नतिपछि दैनिक आवतजावत सहज भएको बताउनुभयो। उहाँका अनुसार पहिले एकपटक आउजाउ गर्न लाग्ने समयमै अहिले काम सम्पन्न गरेर फर्किन सकिने अवस्था बनेको छ। सडक सहज बनेपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ढुवानी गर्न तथा सदरमुकामसँगको सम्पर्क विस्तार गर्न पनि ठूलो सुविधा पुगेको उहाँको भनाइ छ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेको बताउनुभयो। उहाँका अनुसार सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।
पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीका अनुसार प्रदेश सरकारको २६ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण भएको सडकको ठेक्का कन्टेक निर्माण प्रालिले पाएको थियो। विसं २०७७ असार ३ गते सम्झौता भए पनि कोभिड–१९ लगायतका कारण निर्माणमा ढिलाइ भएको थियो। पटक–पटक म्याद थपिएपछि गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भई सडक सञ्चालनमा आएको हो।
सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएको छ। सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच सहज हुनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको छ।

