इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिकी हस्तक्षेप भए ‘कडा जवाफ’ दिने चेतावनी
काठमाडौं, २८ असार – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज स्ट्रेट अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। अमेरिकी हस्तक्षेप जारी रहे कडा जवाफ दिने चेतावनीसमेत इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दिएको छ।
आईआरजीसीका एक नौसैनिक अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार एउटा जहाजले आफ्नो पहिचान प्रणाली बन्द गरेर समुद्री सुरक्षामा जोखिम सिर्जना गरेपछि त्यसलाई रोक्न कारबाही गरिएको दाबी गरिएको छ। यद्यपि उक्त जहाजको पहिचान खुलाइएको छैन। आईआरजीसीले केही जहाजले अनधिकृत मार्ग प्रयोग गरेर जलमार्गमा प्रवेश गर्न खोजेको र चेतावनीलाई बेवास्ता गरेको आरोप पनि लगाएको छ।
रोयटर्सका अनुसार आईआरजीसीले अर्को सूचना जारी नभएसम्म तथा क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज स्ट्रेट बन्द रहने जनाएको छ। यसैबीच, अमेरिका र इरानबीच हालै भएको युद्धविरामपछि पनि दुवै पक्षबीच तनाव पुनः बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेका छन्। साथै, इरानको आग्रहमा कूटनीतिक वार्ता भने जारी रहेको दाबी पनि गरेका छन्।
उता, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले शनिबार जारी गरेको लिखित सन्देशमा आफ्ना पिता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिइने बताएका छन्। सन्देशमा युद्धका क्रममा ज्यान गुमाएका सबैलाई सहिदको संज्ञा दिँदै उनीहरूको रगतको बदला “कुनै पनि हालतमा लिइने” उल्लेख गरिएको छ।
खामेनीले आफूहरूसँग जिम्मेवार व्यक्तिहरूको सूची रहेको दाबी गर्दै बदला लिने प्रक्रिया कुनै एक व्यक्तिमा निर्भर नरहेको र आवश्यक परे विश्वभरका समर्थकहरू पनि त्यसमा सहभागी हुने उल्लेख गरेका छन्। यद्यपि मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनी आफ्ना पिताको अन्त्येष्टिमा पनि सहभागी भएका थिएनन् र हालसम्म उनको नाममा लिखित सन्देश मात्र सार्वजनिक हुँदै आएका छन्।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूविरुद्ध आक्रमण वा हत्या प्रयास भए इरानमाथि व्यापक सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले इरानले आफूलाई निशाना बनाए अमेरिकासँग इरानका सबै रणनीतिक क्षेत्र ध्वस्त पार्ने क्षमता र तयारी रहेको दाबी गरेका छन्।

