मोरङ प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न खोज्ने २६ जना नियन्त्रणमा

विराटनगर, २८ असार – मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा डुबान प्रभावितलाई सहयोग गर्न पुगेका केही जेनजी अभियन्तामाथि प्रहरीको व्यवहार भएको भन्दै विरोध जनाउन शनिबार राति उनीहरू जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेट अगाडि धर्ना बस्न पुगेका थिए।

यसअघि शुक्रबार रातिको वर्षापछि बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई सहयोग गर्न पुगेका तीन जना जेनजी अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाका क्रममा प्रहरीको कुटपिटबाट अभियन्ता माजिद अन्सारी घाइते भएको दाबी गरिएको छ भने नहेन्द्र खड्का र सरिश्मा थापालाई पछि रिहा गरिएको बताइएको छ।

उक्त घटनाको विरोधमा शनिबार राति करिब ९ः३० बजे प्रदर्शनकारीहरू मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिन पुगेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार प्रदर्शनकारीहरूले रातिको समयमा सडक अवरुद्ध गर्दै धर्ना दिएका थिए।

पटक–पटक सम्झाउँदा पनि नमानेर प्रहरीको कामकारबाहीमा अवरोध पुर्‍याउनुका साथै सवारी आवागमन प्रभावित पारेपछि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको उहाँको भनाइ छ। प्रहरीले नियन्त्रणमा लिइएका २६ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box