५ हजार ६ सय मिटर उचाइमा नाँचेर विश्व कीर्तिमान

काठमाडौं, २ मंसिर – कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लो ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन् ।

बिहीबार सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर, ५ हजार ६ सय मिटर उचाइमा नाँचेर उनीहरूले विश्व कीर्तिमान कायम गरेका हुन् । तमु र शेर्पाको समूह नै यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो । सो अवसरमा विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुती दिएका थिए ।

नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ । शेर्पा र तमुले हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर (Highest altitude choreographed dance on land-pair) टाईटलमा विश्व रेकर्ड कायम गराएका हुन् ।

छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालकी विजेता हुन् । उनले चर्चित कलाकार तथा कोरियोग्राफर सरोज प्रजासँग मिलेर जीत हासिल गररेकी थिइन ।

शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो । शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत हुन् । उनी मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् ।

उनले शेर्पा भाषाका चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ विजेता छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी समेत जितेकी थिईन् ।

आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी थिइन् ।

पद्मकन्या क्याम्पसबाट बिए उत्तीर्ण छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीकी निर्देशक पनि हुन् ।

जेडी तमु डान्सिङ स्टार्स नेपालका फाईनलिष्ट हुन् । उनी नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । उनको पुरा नाम जगदिश गुरुङ हो । ईलाम स्थायी घर भएका जेडी कुशल नृत्य निर्देशकका रुपमा पनि परिचित छन् ।

वाई स्ट्याण्ड डान्स स्कूलमा नृत्य सिकाईरहेका जेडीले नेपा डान्स एकेडेमी, अरपिता स्टेप अप डान्स एकेडेमी लगायतका विभिन्न डान्स एकेडेमीमा प्रशिक्षक रुपमा काम गरिसकेका छन् । उनले टेरेन्स लुईस प्रोफेसनल ट्रेनिङ ईन्स्टिच्युटबाट नृत्यमा डिप्लोमा गरेका छन् ।

गोपाल जंग थापा

Facebook Comments Box