प्रशिक्षार्थी चिकित्सक आन्दोलित
काठमाडौं, २७ असार – एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्डसम्बन्धी सरकारी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी चिकित्सकहरूले इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक र भावी मेडिकल विद्यार्थीको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्याउने निर्णय गरे पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा उक्त निर्णय कार्यान्वयन हुन नसकेको बताए।
‘समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गर्यो। तर आयोगको पूर्ण बैठक नबस्दा त्यो निर्णय कागजमै सीमित भएको छ,’ उनले भने, ‘निर्णय भएर पनि कार्यान्वयन नहुँदा आन्दोलन हाम्रो बाध्यता बनेको हो।’
उनले सरकारले तत्काल चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक बोलाएर स्टाइपेन्डसम्बन्धी निर्णय अनुमोदन गरी कार्यान्वयन गर्नुपर्ने माग गरे।
प्रदर्शनकारीहरूले नेपाल मेडिकल एसोसिएसनको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। मेडिकल विद्यार्थी र इन्टर्न चिकित्सकका मागमा एसोसिएसनले प्रभावकारी रूपमा आवाज नउठाएको उनीहरूको आरोप छ। एसोसिएसनले निजी मेडिकल कलेजको हितभन्दा चिकित्सक र मेडिकल विद्यार्थीको हितलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।
शाहले सरकारको निर्णय कार्यान्वयन भएपछि आफूहरू अस्पताल फर्केर बिरामीको सेवामा खटिन तयार रहेको बताए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘हाम्रो धैर्यको परीक्षा धेरै भयो’, ‘प्रतिवेदन कार्यान्वयन गर’, ‘इन्टर्नमाथिको विभेद अन्त्य गर’ र ‘निर्णय कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
संघर्ष समितिले सरकार, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकायले स्टाइपेन्डसम्बन्धी निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

