आज देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं, २७ असार – जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव कायम रहेकाले केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

