म्याग्दीमा नयाँ ‘भर्जिन रुट’ खुल्ने तयारी, हिउँदयामदेखि मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालन गर्ने योजना

म्याग्दी, २७ असार – म्याग्दीको धवलागिरि गाउँपालिकामा प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ। हालसम्म पर्यटकका लागि नखुलेको मुदी–गुर्जा–रुघाचौर–जलजला पदमार्ग आगामी हिउँदयामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको हो।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार पर्यटन विभागको सहयोगमा सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। अध्ययनका आधारमा धवलागिरि गाउँपालिका–४ को मुदीदेखि वडा नं. १ को गुर्जा हुँदै वडा नं. २ स्थित जलजलासम्म पदमार्ग सञ्चालन गर्ने तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

मन्त्री पुनले यो पदमार्ग नेपालकै नयाँ ‘भर्जिन रुट’ हुने बताउँदै पर्यटन व्यवसायी र स्थानीयवासीलाई पर्यटक स्वागतका लागि आवश्यक तयारी गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार अप्ठ्यारा स्थानमा पदमार्ग निर्माण, रेलिङ जडान, विश्रामस्थल र झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ। यही असारमा बेनीस्थित मन्त्री पुनको सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा दोवा–सोवाङ–चिमखोला पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो।

अध्ययन प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ। त्यसको विकल्पका रूपमा मुदी–गुर्जा–रुघाचौर–जलजला तथा दोवा–सोवाङ–चिमखोला पदमार्ग दीर्घकालीन रूपमा उपयुक्त हुने निष्कर्ष निकालिएको छ। उक्त प्रतिवेदन पर्यटन मन्त्रालयलाई बुझाइसकिएको छ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धौलागिरि चक्रीय पदमार्ग विकास योजनामा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै मुदी–गुर्जा–जलजलालगायत नयाँ पदमार्गको सम्भाव्यता अध्ययनका लागि २१ लाख रुपैयाँ छुट्याइएको छ।

स्थानीय विजय घर्तीले नयाँ पदमार्ग सञ्चालनमा आए सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी–गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सेवा र अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार यसले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ।

सडक विस्तारका कारण पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्गको पहिचान र विकासको माग स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि गर्दै आएका थिए। धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले यो पदमार्ग दीर्घकालीन रूपमा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पदमार्ग सञ्चालनले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई पनि नयाँ गति दिने अपेक्षा गरिएको छ।

Facebook Comments Box