अमेरिकाद्वारा इरानमा फेरि हवाई आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चुलियो
वासिङ्टन डीसी – अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा अर्को चरणको हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रातिको आक्रमण–प्रत्याक्रमणपछि ‘फेरि कडा प्रहार गर्ने’ संकेत दिएलगत्तै नयाँ हवाई कारबाही भएको हो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानका सिरिक, बन्दर अब्बास, कोनारक, चाबहार र जास्क क्षेत्रमा विस्फोट भएका छन्। होर्मुज जलडमरूमध्य नजिक रहेका यी क्षेत्रहरू रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। बन्दर अब्बासमा आठ वटा विस्फोट भएको तथा सिरिक, जास्क र अबु मुसा टापुमा पनि क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले आक्रमणको उद्देश्य होर्मुज जलडमरूमध्यमा स्वतन्त्र जलयात्रामाथि खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर पार्नु रहेको जनाएको छ। सेन्टकमले हालै व्यावसायिक जहाजमाथि भएको आक्रमणको जिम्मेवारी इरानले वहन गर्नुपर्ने उल्लेख गरेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत होर्मुज क्षेत्रमा जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै यस्ता गतिविधि दोहोरिए थप कडा जवाफ दिइने चेतावनी दिएका छन्। इरानले नयाँ आक्रमणबारे तत्काल औपचारिक प्रतिक्रिया जनाएको छैन। यद्यपि यसअघि इरानी अधिकारीहरूले अमेरिकी आक्रमण भए तत्काल प्रतिकार गरिने चेतावनी दिएका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ। चाबहारमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको र बुशेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को एक ब्यारेकमा आगलागी भएको पनि जनाइएको छ।यसैबीच राष्ट्रपति ट्रम्पले इरानले नयाँ सम्झौताका लागि सम्पर्क गरेको दाबी गरेका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरान सम्झौताका लागि इच्छुक देखिएको बताए पनि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। यता इरानका विदेशमन्त्री अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै इरानले उक्साहटको जवाफ शब्दले होइन, आवश्यक परे कार्यबाट दिने बताएका छन्।
हालै अमेरिका र इरानबीच ६० दिने युद्धविराम तथा वार्ता जारी राख्ने समझदारी भएको थियो। त्यसमा होर्मुज जलडमरूमध्यबाट सुरक्षित जहाज आवागमन सुनिश्चित गर्ने र अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध हटाउने विषय पनि समावेश थिए। तर पछिल्ला लगातार सैन्य कारबाहीले उक्त समझदारी संकटमा परेको विश्लेषण गरिएको छ।
पछिल्ला केही दिनयता होर्मुज जलडमरूमध्यमा तेल ट्यांकर र अन्य जहाजमाथि भएका आक्रमणपछि अमेरिका र इरानबीच सैन्य तनाव तीव्र बन्दै गएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै प्रतिकारात्मक कारबाही जारी राखेका छन्।

