बागमतीमा डेब्रिज थुप्रिँदा काठमाडौंका सडक डुबानमा, ट्राफिक प्रहरीको निष्कर्ष

काठमाडौं, २० असार – बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उचालिँदा सहायक नदीहरूको पानीको निकास अवरुद्ध भई काठमाडौंका विभिन्न सडक डुबानमा पर्ने समस्या बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। असार १८ गतेको अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार बागमती तथा यसका सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा बागमती नदीमा थुप्रिएको डेब्रिजका कारण नदीको सतह उच्च बनेको र त्यसले टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानीको निकास अवरुद्ध गरेको निष्कर्ष निकालिएको छ। नदीको सतह बढेपछि सहायक नदीमा ‘ब्याक फ्लो’ (उल्टो बहाव) हुने अवस्था सिर्जना भएको ट्राफिक प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार वर्षाका बेला बागमती नदीको सतह सहायक नदीभन्दा माथि पुग्ने भएकाले वर्षाको पानी मुख्य नदीमा मिसिन नसकी सडकतर्फ फैलिने र त्यसकै कारण सडक जलमग्न हुने गरेको छ। उहाँले बागमती नदीमा थुप्रिएको डेब्रिज हटाएर नदीको गहिराइ कम्तीमा डेढ मिटर बढाउन सके पानीको बहाव सहज हुने र सडक डुबानको समस्या उल्लेखनीय रूपमा घट्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा वर्षायाममा हुने सडक डुबानको दीर्घकालीन समाधानका लागि बागमती नदीको नियमित सफाइ, डेब्रिज व्यवस्थापन तथा ढल र पानी निकास प्रणालीको प्रभावकारी सुधार आवश्यक रहेको औँल्याइएको छ। यसका लागि सम्बन्धित सबै निकायबीच समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा पनि जोड दिइएको छ।

ट्राफिक प्रहरीका अनुसार बिहीबारको वर्षापछि सिंहदरबार, न्युप्लाजा, अनामनगर, सिनामंगल, गौशाला, तिलगंगा र माइतीघरलगायत क्षेत्रका सडक जलमग्न भएका थिए। सडक डुबानका कारण सवारी सञ्चालन प्रभावित भए पनि प्रतिकूल मौसमका बीच ट्राफिक प्रहरी निरन्तर सडकमा खटिएर यातायात व्यवस्थापनमा सक्रिय रहेको कार्यालयले जनाएको छ।

Facebook Comments Box