वैशाखयता विपदजन्य घटनामा १२७ जनाको मृत्यु, ७७३ घाइते

काठमाडौं, २० असार – यस वर्ष वैशाख १ गतेदेखि असार १९ गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा १२७ जनाको मृत्यु भएको छ भने ७७३ जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा देशभर दुई हजार ७२१ वटा विपदजन्य घटना भएका छन्। ती घटनाबाट तीन हजार ७२२ परिवार प्रभावित भएका प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विपद् बुलेटिनमा उल्लेख छ।

तथ्यांकअनुसार सबैभन्दा बढी सर्पदंशका ३९८ घटना भएका छन्। ती घटनामा २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन्। यस्तै, लेक लाग्ने ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते भएका छन्। चट्याङका २०५ घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने ९८ जना घाइते भएका छन्।

घटनाको संख्याका आधारमा भने आगलागी सबैभन्दा बढी भएको छ। आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। त्यसैगरी, जनावरको आक्रमणका १४७ घटनामा १४ जनाको मृत्यु र ८२ जना घाइते भएका छन्। हावाहुरीका ४७४ घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार बाढी, पहिरो, भारी वर्षा, डुङ्गा दुर्घटना, वन डढेलो तथा हिमपहिरोजस्ता अन्य विपदजन्य घटनाबाट पनि मानवीय क्षति भएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २७ जिल्लामा ३१ वटा विपदजन्य घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

Facebook Comments Box