दाङमा माइक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु तीन जना घाइते
दाङ, १६ फागुन – गएराति दाङमा माइक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
तुलसीपुर घोराही सडकखण्डमा बा ३ ख ८६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिए।
दुर्घटनापछि दुबै सवारी साधनमा आगो लागेको छ। मोटरसाइकलको ट्याङ्की फुटेर पेट्रोल पोखिँदा आगलागी भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षीय रमेश वली, माइक्रो चालक तुलसीपुर ७ का करण परियार र उनका भाइ कमल परियार घाइते भएका छन्। गम्भीर अवस्थाका करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।

