विश्वकप फुटबलः आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने
काठमाडौं, १७ असार – फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम–३२ अन्तर्गत आज भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका लागि एन्टोनियो नुसाले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा यही अग्रता कायम रह्यो।
दोस्रो हाफको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। बराबरीपछि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि खेलको ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि नर्वे विजयी बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच, अन्तिम–३२ अन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेनबीच खेल हुनेछ। यस्तै, बुधबार बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर आमनेसामने हुनेछन्।

