असार १५ आज : धान दिवस र दही–चिउरा खाएर मनाइँदै राष्ट्रिय सांस्कृतिक पर्व

काठमाडौं, १५ असार – नेपाली कृषि संस्कृतिसँग जोडिएको राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। परम्पराअनुसार किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाएर यो पर्व मनाउने गर्छन्। असार महिनामा धान रोपाइँको व्यस्ततापछि शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ।

खेतीपातीमा संलग्न किसानमात्र होइन, अन्य पेसा–व्यवसायमा आबद्ध नेपालीले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने चलन छ। नेपाली संस्कृतिमा दहीलाई शुभको प्रतीक मानिन्छ। शुभकार्यमा घरबाट निस्कँदा, यात्रा वा विदेश जानुअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खाने परम्परा आज पनि कायम छ। दही खाएर यात्रा गर्दा शुभ हुने जनविश्वास रहँदै आएको छ।

स्वास्थ्यका दृष्टिले पनि दही लाभदायक मानिन्छ। यसले पाचन प्रणाली सुधार्ने, शरीरलाई शीतलता दिने तथा पखालाजस्ता समस्यामा समेत उपयोगी हुने विश्वास छ। आयुर्वेदमा भोजनपछि दहीबाट बनेको मोही सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिएको उल्लेख छ। नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो।

कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले असार महिना किसानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। आजका दिन किसानहरू असारे भाका गाउँदै, हिलोमा रमाउँदै धान रोप्ने परम्परा छ। रोपाइँका क्रममा हिलो खेल्ने र लोकगीत गाएर रमाइलो गर्ने संस्कृति पनि नेपाली समाजमा जीवित छ।

यस वर्ष भने असार मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नभएकाले धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। केही स्थानका किसानले रासायनिक मल अभावको गुनासो गरेका छन्। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले भने आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको र वितरण प्रक्रिया जारी रहेको जनाएको छ।

Facebook Comments Box