कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा
काठमाडौँ, ६ साउन – सरकारले कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत ३१ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। सेवाग्राहीको काम समयमा नगरेको, स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेका फाइलसमेत सदर नगरेको भन्ने गुनासोहरू बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाहीस्वरूप सरुवा निर्णय लिएको हो।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरुवा गरिएका कर्मचारीमा शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीहरू रहेका छन्। उनीहरूलाई अन्य निकायमा खटाइएको छ। सरुवा निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असार २७ गतेको निर्णय र त्यसपछि सहसचिवको नेतृत्वमा गठन गरिएको छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनको आधारमा गरिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।
उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी रजिष्ट्रार कार्यालयको अनलाइन प्रणालीमार्फत दिइने कम्पनी प्रशासनसम्बन्धी सेवामा देखिएको कमजोरी र नियमित रूपमा आउने गुनासोहरूलाई ध्यानमा राखेर स्थलगत अनुगमन गरिएको थियो।छानबिन समितिले सेवा प्रवाहमा सुधार गर्न प्रणालीगत सुधार, प्रक्रियागत सरलीकरण, र अनलाइन सेवा प्रवाहलाई चुस्त बनाउने सिफारिस गरेको छ। सोहीअनुसार मन्त्रालयले नियमित अनुगमनलाई संस्थागत गर्दै सुधारात्मक कदम चाल्ने जनाएको छ।

