रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
चितवन, १२ असार – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत खुला पुरुषतर्फको उपसभापति पदमा वाग्लेबाहेक अन्य उम्मेदवार कायम नरहेपछि निर्वाचन आयोगले शुक्रबार बिहान उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावकसमेत बनेका थिए। रास्वपाको विधानअनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था छ। तीमध्ये निर्वाचनमार्फत कम्तीमा एक महिला सहित दुई जना चयन हुनेछन् भने एक जना उपसभापतिलाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
यसअन्तर्गत खुला पुरुषतर्फ वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा पनि वाग्ले खुलातर्फ सबैभन्दा बढी दुई हजार ६०७ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ। यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

