होल्डिङ सेन्टर खाली गर्न सुकुमवासीलाई थप एक साताको समय
काठमाडौँ, १२ असार – सरकारले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीलाई त्यहाँबाट स्वव्यवस्थापन गर्न थप एक साताको समय दिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै यसअघि तोकिएको असार १२ गतेको समयसीमा बढाएर असार १९ गतेसम्म पुर्याएको जनाएको हो।
यसअघि समितिले असार ९ गते सूचना जारी गर्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर घर भाडाको व्यवस्था गर्न दिइएको समय छोटो भएको गुनासो आएपछि समयसीमा थप गरिएको समितिले जनाएको छ। समितिले जारी गरेको सूचनामा होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई स्वव्यवस्थापनका लागि असार १९ गतेसम्मको अतिरिक्त समय दिइएको उल्लेख छ।
सरकारले गत वैशाख १२, १३, १९ र २० गते काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाएपछि प्रभावित परिवारको विवरण दशरथ रङ्गशालामा दर्ता गरी विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। सरकारले होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएर स्वव्यवस्थापनमा पठाउने तयारी गरेको छ। उक्त रकम प्राप्त गर्न असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई बैंक खाताको विवरणसहित निवेदन पेश गर्न समितिले आग्रह गरेको छ।

