भेनेजुयलामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ। केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवन तथा घरहरूमा क्षति पुगेको छ। भूकम्पका कारण मानवीय र भौतिक क्षति ठूलो हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प गएको करिब ४० सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासको पश्चिमी क्षेत्रमा रहेको जनाइएको छ। भूकम्पपछि हजारौँ मानिस घर, कार्यालय तथा अन्य भवनबाट बाहिर निस्केर सडक र खुला स्थानमा जम्मा भएका थिए। भेनेजुयलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही भवन तथा घरहरू भत्किएको पुष्टि गर्दै नागरिकलाई सतर्क रहन र घरबाहिर सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ।

प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको बताइएको छ। यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक रूपमा हताहती र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा गएको भूकम्पको धक्का देशका अधिकांश भागमा महसुस गरिएको थियो। त्यस दिन राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्प आएको बताइएको छ।

भूकम्पको कम्पन छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी रहेको छ।

Facebook Comments Box